प्रधानमन्त्री वालेन आज भारतको राजकीय भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दै छन्।

उनी प्रधानमन्त्री भइसकेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लागेका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् ।

उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भोलि सोमबार प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शाहले सोमबार नै नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्नेछन् ।

प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले आजै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियाजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री शाहको भ्रमणका क्रममा दुवै देशका नेतृत्वहरूबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ ।

त्यस क्रममा सहकार्यका क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानव संसाधन विकासजस्ता विषय समेटिएका विभिन्न समझदारीपत्रहरू (एमओयू) पनि आदानप्रदान गरिनेछन् । त्यसबाट दुवै देशका प्राथमिकता प्राप्त क्षेत्रमा आपसी सहकार्य अझ विस्तार हुनेछ ।

भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रम आयोजना हुनेछ ।

नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गरिने र व्यवसायी समुदायका चासो तथा सरोकारहरू सुन्ने तथा नेपाल सरकारका तर्फबाट भारतबाट थप लगानी आकर्षित गर्न अवलम्बन गरिएका नीतिगत दृष्टिकोण तथा प्रयासहरू प्रस्तुत गरिनेछ ।

त्यस कार्यक्रमबाट नेपाली र भारतीय व्यवसायीबीच सहकार्य गर्ने सेतु पनि बन्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री शाहको टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्ययवसायी र पत्रकारलगायत रहनेछन् ।

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सम्पन्न गरी भोलि सोमबार साँझ १८ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ ।