काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको शुभकामना दिँदै देशविदेशमा रहेका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री शाहले विजयादशमी असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा मनाइने उत्सव भएको र पौराणिक मान्यताअनुसार यसै दिन दुर्गा भवानीले महिषासुर जस्तो आसुरी शक्तिमाथि विजय प्राप्त गरेको विषय सुझाएका छन् । उनले आजको दिनलाई भगवान् रामले पनि असत्यका प्रतीक रावणको अन्त्य गरेको दिनको रूपमा लिइने स्मरण गरेका छन् ।
उनले मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको बताउँदै दुर्गा भवानीले विजय प्राप्त गरे जस्तै सबैले हरेक सत्कर्ममा विजय प्राप्त गर्न सकून भन्ने कामना गरेका छन् । ‘आशीर्वाद ग्रहण गर्न टाढा रहनुभएका मान्यजनहरूलाई समेत हामी खोजीखोजी पुग्छौँ,’ उनले सन्देशमा भनेका छन्, ‘विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेद जस्ता नकारात्मक सोचलाई त्याग्न प्रेरणा दिन्छ। आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक बेथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ` ।
उनले इमान्दार प्रयास, अठोट र सामूहिक मेहनतले नै हामीलाई यस्ता विकृति हटाउन मद्दत गर्ने बताएका छन् । ‘परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी छ,’ उनले भनेका छन्, ‘पर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्न र वर्षौँसम्म छुट्टिएका साथीभाइ तथा आफन्तजनसँग आत्मीयता बाँड्ने अवसर समेत दिन्छ।’










प्रतिक्रिया