भीमफेदीमा ईभी दुर्घटना हुँदा ११ घाइते

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका- १ बादरेभीरस्थित हेटौँडा–भैँसे सडक खण्डमा आज दिउँसो विद्युतीय सवारी साधन (ईभी) दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको भाडाको ईभी गाडी दिउँसो करिब १२:३० बजे अनियन्त्रित भई सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएर बायाँ किनारको नालामा खसेको थियो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भैँसेबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको थियो ।

दुर्घटनामा रौतहटको दुर्गा भगवती गाउँपालिका-१ पिपराटोल बस्ने अन्दाजी ५० वर्षीय हरि साह गम्भीर घाइते भएका छन् । उनको मुखमा गहिरो चोट लागेकाले प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेजमा रिफर गरिएको छ ।

उनका साथमा सामान्य चोट लागेका तथा अवस्था सामान्य रहेका परिवारका सदस्यहरू-छोरीहरू २६ वर्षीया चन्दा कुमारी साह र २३ वर्षीया शिवा कुमारी साह, ५ वर्षीय नाति आर्यन साह, नाति शिवान्स साह र नातिनी शान्ति कुमारी साह पनि चितवन गएका छन्।

दुर्घटनामा घाइते भएका अन्य यात्रुहरूको अवस्था भने सामान्य रहेको छ:

रौतहट दुर्गा भगवती–१ का ३२ वर्षीय राजेश साह (बाँया खुट्टामा चोट)

भारत, बिहारको मोतिहारी बस्ने ३४ वर्षीय सर्फे आलम (नाक र बाँया कुममा चोट)

रौतहट चन्द्रपुर नगरपालिका–११ पडरियाटोलकी २४ वर्षीया सबिता कुमारी चौधरी (बाँया कोखामा चोट)

रौतहट यमुनामाई गाउँपालिका–४ यादवटोलका १९ वर्षीय राहुल ठाकुर (मुखमा चोट)

सोही स्थानका १६ वर्षीय बिजय कुमार ठाकुर (टाउको र दाहिने खुट्टामा चोट)

दुर्घटनापछि ईभी चालक भने घटनास्थलबाट फरार भएका छन् । प्रहरीले फरार चालकको खोजी भइरहेको जनाएको छ । दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको र गाडी धनी शिवकान्त झासँग सम्पर्क भइसकेको छ ।