काठमाडौँ । सिन्धुलीको फिक्कल–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप करिब २ सय मिटर तल सुनकोशी नदीमा खस्दा तीन महिलाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन् ।
आज बिहान करिब २ः३० बजे काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको यात्रुवाहक जिप सडकबाट करिब २ सय मिटर तल सुनकोशी नदीमा खसेर दुर्घटना भएको हो । दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी रत्नावती र प्रहरी चौकी खाङसाङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
घटनास्थलमा तीन महिलाको शव फेला परेको थियो । दुर्घटनामा घाइते भएका चालकसहित चार जनालाई उद्धार गरी उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा पठाइएको छ । दुर्घटनामा चालक, ओखलढुंगाका २९ वर्षीय आशीष बिष्ट, खोटाङ, दिक्तेल नगरपालिका–३ का ३८ वर्षीया सम्झना राई, १२ वर्षीया छोरी सिवानी, दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक घाइते भएका छन् । घाइते चारै जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत सिन्धुली जिल्ला अस्पताल पठाइएकाे छ ।
चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना बेपत्ता छन् । उनीहरूको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात जना र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली घटनास्थलमा खटिएको छ। संयुक्त टोलीले बेपत्ताहरूको खोजी तथा उद्धार कार्य गरिरहेको छ । थप विवरण आउन बाँकी छ ।










प्रतिक्रिया