काठमाडौँ । रसुवा बाढीका क्रममा बेपत्ता हुन पुगेका पत्रकार टेकराज थामी अहिलेसम्म नभेटिएपछि शनिबार अन्त्येष्टि गरिने भएको छ । परिवारकाे सल्लाह र निर्णयअनुसार थामीकाे पशुपति आर्यघाटमा अन्त्यष्टि गर्न लागिएको नेपाल थामी समाजले जानकारी दिएको हो ।
नयाँ पत्रिकामा कार्यरत पत्रकार थामी कार्यालयबाट चार दिनका लागि बिदा लिएर रसुवातर्फ लागेका थिए । आफू एक कार्यक्रममा सहभागी हुन केरुङ जाने उनले परिवारलाई बताएका थिए । उनी चीनतर्फ पुगे-नपुगेको पुष्टि हुन नसकेको नयाँ पत्रिकाले जनाएको छ ।
बाढी आउने आएको अघिल्लो दिन रसुवातर्फ लागेका थामीको बेलुका परिवारसँग सम्पर्क भएको थियो । त्यसयता उनको कसैसँग सम्पर्क नभएको उनकी श्रीमती कालिका खड्काले बताएकी छन् ।
सबै निकायबाट खोजी र उद्धारका लागि पहल गर्दा पनि थामीको कुनै पत्तो लागेन । बाढी आएको दिन बिहान ८:२१ बजेसम्म उनको मोबाइल लोकेसन देखिएको र त्यसपछि फोन अफ भएको थियो ।
मिहिनेति र जुझारु पत्रकार थामीले अपराध तथा अनुसन्धानमूलक रिपोर्टिङ गर्दै आएका थिए । एक दशकभन्दा बढी समयदेखि उनी नयाँ पत्रिकामा कार्यरत थिए । उनी थामी सामाजका पूर्वउपाध्यक्ष पनि हुन् । दोलखा घर भएका थामीका श्रीमती र एक छोरी छन् ।










प्रतिक्रिया