गण्डकी । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा चलचित्र ‘बुकी फूल’को आज गुरुङ परम्परा अनुसार शुभ मुहूर्त गरिएको छ । बेदबहादुर गुरुङ ‘श्याम’को परिकल्पना र ओमप्रकाश गुरुङको निर्देशनमा बन्ने चलचित्र बुकी फूलमा गुरुङ समुदायको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक परिवेश समेटिने बताइएको छ ।
चलचित्र बुकी फूलको छायाङ्कन सिक्लेस र त्यस आसपासका क्षेत्रमा गरिने भएको छ । चलचित्रको शुभ मुहूर्त कार्यक्रममा निर्देशक नवीन सुब्बा, मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङ, कलाकार तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।
चलचित्र बुकी फूलमा दयाहाङ राई, संस्कृति गुरुङ, पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता आलेमगर, माया गुरुङ, विश्वास गुरुङ, राजेश गुरुङ, एन्सर्ज गुरुङ, टीकाराम घले, ओसिन गुरुङ, लालशोभा गुरुङ, मनबहादुर गुरुङ, बेदबहादुर गुरुङ ‘श्याम’लगायतका कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ ।
शुभ मुहूर्त कार्यक्रममा चलचित्र निर्देशक नवीन सुब्बाले ‘बुकी फूल’ गुरुङ समुदायभित्रको ऐतिहासिक दस्तावेजका रूपमा स्थापित हुन सक्ने धारणा राखे। नेपाली चलचित्र क्षेत्रमा विस्तारै सुधारको क्रम आइरहेको उल्लेख गर्दै उनले विषयवस्तु र प्रस्तुतिमा ध्यान दिनुपर्ने बताए ।
चलचित्रका परिकल्पनाकार एवं निर्माता बेदबहादुर गुरुङ ‘श्याम’ले आफ्ना बाबुबाजेबाट सुन्दै आएको कथाव्यथालाई चलचित्र ‘बुकी फूल’मार्फत् प्रस्तुत गर्ने प्रयास गरिएको बताए । गुरुङ समुदायको इतिहास, संस्कृति र जीवनशैलीलाई चलचित्र ‘बुकी फूल’मा समेटिने उनको भनाइ छ ।
निर्देशक ओमप्रकाश गुरुङले कथाको ऐतिहासिक परिवेशलाई ध्यानमा राख्दै चलचित्र ‘बुकी फूल’ निर्माण गरिने बताए । सुसन प्रजापतिले छायाङ्कन गर्ने चलचित्र ‘बुकी फूल’को मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने रहेका छन् । करिब ३५ दिनभित्र चलचित्रको छायाङ्कन कार्य सक्ने लक्ष्य रहेको निर्देशक सुब्बाले बताए ।










प्रतिक्रिया