भाेटेकाेशी बाढी: मृतककाे संख्या १३८५ पुग्याे

काठमाडौं । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १ हजार ३८५ जनाको शव फेला परेको छ भने ४ हजार ८९ जना अझै सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५४२ पुरुष, ३३४ महिला र ५०९ वटा आंशिक शव छन्। तीमध्ये १०३ वटा शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार सम्पर्कविहीनमध्ये २ हजार ९०७ नेपाली पुरुष, ५७२ नेपाली महिला, २७२ विदेशी पुरुष र ३२८ विदेशी महिला छन्। बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनको काम सुरक्षा निकायले निरन्तरता दिएका छन्। हालसम्म फेला परेका १ हजार १४८ शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।

बाढीपछि हालसम्म ९ हजार २८७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ६ हजार ४०७ पुरुष, २ हजार ८३० महिला र ५० जना पहिचान नखुलेका छन्। उद्धार गरिएकामध्ये ३ हजार १७६ जनालाई होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिए। बेपत्ता तथा मृतकको पहिचानका लागि प्रहरीले डिएनए परीक्षणलाई प्राथमिकता दिएको छ। हालसम्म १ हजार २८६ मृतक र १ हजार ७१२ आफन्त गरी २ हजार ९९८ जनाको डिएनए नमुना सङ्कलन गरिएको छ। बेपत्ताको खोजी, शव पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बललगायतका टोली प्रभावित क्षेत्रमा निरन्तर परिचालित छन्।