अशोक दर्जीलाई कुटिपिट गरेको भिडियो सार्वजनिक भएपछि अभिनेतृ नीता ढुंगानाले के भनिन ?

काठमाडौं । गायक अशोक दर्जीलाई थप्पड हानिकएको भिडिओ सार्वनजिक भएपछि अभिनेत्री नीता ढुंगानाले त्यसप्रति दुःख व्यक्त गरेकी छिन् ।

घटना पुरानो भए पनि यसको वास्तविकता पूर्णरुपमा बाहिर नआएको भन्दै उनले दुखेसो पोखेकी हुन् ।

पूजा बस्नेत र विनजजंग बस्नेतले सार्वजनिक गरेको भिडिओमा अशोकलाई उनकै उमेरका अर्का किशोरले गालामा थप्पड र मुक्का हानेको देखिएको छ ।

‘गायककार भएर अर्काको पैसा लैजाने हो ?’ भन्दै थप्पड हान्दा अशोक निरिह अवस्थामा देखिएका छन् ।

अशोकले अभिनय गरेको नयाँ चलचित्र ‘पार्वती’ कि निर्मात्रीसमेत रहेकी ढुंगानाले हिजो राति सार्वजनिक भएको भिडियोले आफूलाई अत्यन्त दुःखी र विचलित बनाएको बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हेर्दा लेनदेनसँग सम्बन्धित विषय जस्तो देखिए पनि, सत्य के हो भन्ने कुरा निष्पक्ष रूपमा छानबिन हुन आवश्यक छ । कसैको गल्ती भए पनि कानुनी प्रक्रिया र मानवीय व्यवहारभन्दा बाहिर गएर गालीगलौज, कुटपिट तथा सामाजिक रूपमा अपमानित गर्नु कुनै पनि हिसाबले स्वीकार्य हुन सक्दैन ।’

यो घटना अहिलेको नभएर धेरै समयअघिको भएको ढुंगानाले बताएकी छन्।

‘यदि यो विषय वास्तविक रूपमा चिन्ताको कारण थियो भने, त्यतिबेलै यो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएर चर्चा हुनुपर्ने थियो । तर अहिले, अशोकको निरन्तर मेहनत, लगनशीलता र प्रगतिले चर्चा पाइरहेको बेला पुरानो भिडियो बाहिर ल्याएर उनलाई बदनाम गर्ने प्रयास गरिएको जस्तो देखिन्छ,’ उनले लेखेकी छन् ।

यसै विषयमा अशोकले सम्बन्धित निकायमा दिएको निवेदन पनि उनले सार्वजनिक गरेकी छन् ।