आयाेगकाे निवेदन सच्याउन ओलीले गरे निवेदन दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको जेनजी आन्दोलनको घटनासम्बन्धी प्रतिवेदन सच्याउन माग गर्दै निवेदन दर्ता गराएका छन् ।

ओलीको तर्फबाट केन्द्रीय सदस्य महेश बर्तौँलाले आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर निवेदन बुझाएका हुन् । भदौ घटनासम्बन्धी आयोगको निर्णय नं. १७७ सच्याउन माग गर्दै निवेदन दर्ता गरेको नेता बर्तौँलाले बताए ।

आयोगले भदौ २३ र २४ को जेनजी आन्दोलन सम्बन्धी घटनामा पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मानवअधिकार उल्लङ्घन गरेको ठहर गर्दै कारबाहीको सिफारिस गरेको थियो।

निवेदनमा आयोगको उक्त निर्णय नेपालको संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय मानवअधिकारका स्थापित मान्यता र सिद्धान्तसँग मेल नखाने, पूर्वाग्रहपूर्ण र असंवैधानिक रहेको दाबी गर्दै त्यसलाई पुनरावलोकन गरी सच्याउन आग्रह गरिएको छ ।

यसअघि आयोगसँग माग गरिएका कागजात तथा प्रतिवेदनका प्रतिलिपि पूर्ण रूपमा उपलब्ध नगराइएको भन्दै थप कागजात उपलब्ध गराउन पनि ओलीले निवेदनमार्फत माग गरेका छन् ।

निवेदनमा लिली थापाको नेतृत्वमा गठित समितिले आयोगसमक्ष पेस गरेको भनिएको प्रतिवेदनको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन, उक्त प्रतिवेदनका कुन–कुन अंश आयोगले स्वीकार गरेको, कुन अंश हटाएको वा थप गरेको तथा त्यसका आधार र कारण खुल्ने सम्पूर्ण कागजातहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन माग गरिएको निवेदनमा उल्लेख छ ।