गृहमन्त्री गुरुङ सीमा नाका अनुगमनमा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सीमा नाकाको अनुगमनका लागि विराटनगर पुगेका छन् । बुद्ध एयरको जहाजबाट गुरुङ बिहान विराटनगर गएका हुन् ।

विराटनगर आएका गुरुङले प्रहरी कार्यालयका जीर्ण भवन तथा कमजोर भौतिक पूर्वाधारको सुधारलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने बताए ।

बजेटको सीमितताका कारण निर्माण कार्यले अपेक्षित गति लिन नसकेको स्वीकार गर्दै उनले स्रोत व्यवस्थापन गरी प्रहरीका आवश्यक भवन निर्माणलाई तीव्रता दिइने प्रतिबद्धता जनाएका छन् ।

नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा अवस्थाको स्थलगत अनुगमनका लागि शनिबार विराटनगर पुगेका गृहमन्त्री गुरुङले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रहरी संगठनलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधार मजबुत हुन अपरिहार्य रहेको बताए ।

देशका विभिन्न जिल्लामा रहेका प्रहरी कार्यालयका भवन जीर्ण अवस्थामा रहेको आफूलाई जानकारी भएको उल्लेख गर्दै उनले जीर्ण संरचनाको पुनर्निर्माण तथा स्तरोन्नतिका लागि सरकारले योजना बनाइरहेको गुरुङले बताए ।

विराटनगर विमानस्थलमा ओर्लिएर उनी सीमा क्षेत्रको स्थलगत अनुगमनमा गएका छन् । उनले सीमामा केही अपांगता भएका व्यक्तिहरुसँग कुराकानी गरेका छन् ।

सुरक्षा स्रोतका अनुसार उनले नेपाल–भारत सीमाअन्तर्गत मोरङको सीमावर्ती क्षेत्रमा सुरक्षाको अवस्था, प्रहरी परिचालन, भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा आवश्यक सुधारका विषयमा सम्बन्धित सुरक्षा निकायसँग जानकारी लिने उनको योजना छ ।

सुरक्षा स्रोतका अनुसार गृहमन्त्री गुरुङको भ्रमण मोरङमा मात्र सीमित रहने छैन । उनले सुनसरी जिल्लामा समेत आकस्मिक छड्के अनुगमन गर्ने कार्यक्रम रहेको छ भने आवश्यक सुरक्षा अवस्थाका बारेमा जानकारी लिन धनकुटासम्म पुग्ने कार्यतालिका बनाइएको छ ।