सुकुम्वासीहरूलाई बलजफ्ती निकाले परिणाम गम्भीर हुन सक्छ: नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीहरूको छिटोभन्दा छिटो वैज्ञानिक र मानवीय रूपमा उचित बसोबासको व्यवस्था गर्न आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले सरकारसँग सो आग्रह गरेका हुन्।

श्रेष्ठले सुकुम्वासीहरूलाई बलजफ्ती निकाल्ने कार्य तत्काल बन्द गर्न समेत आग्रह गरेका छन् । अन्यथा त्यसको परिणाम धेरै गम्भीर हुन सक्ने चेतावनी समेत उनले दिएका छन् ।

श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,  ‘अहिले पुनर्वासको व्यवस्था बिना नै सुकुम्वासीहरूलाई ती होल्डिङ सेन्टर बाट बलजफ्ती निकाल्ने सूचना ,धम्की र चेतावनी दिइएको छ ,जुन नितान्त गलत र गैरजिम्मेवार छ । सुकुम्वासीहरूलाई छिटो भन्दा छिटो वैज्ञानिक र मानवीय रूपमा उचित बसोबासको व्यवस्था गरियोस्  र त्यस्तो व्यवस्था नभए सम्मको लागि होल्डिङ सेन्टरबाट बलजफ्ती निकाल्ने कार्य बन्द गरियोस् , अन्यथा त्यसको परिणाम धेरै गम्भीर हुन सक्नेछ ।’

बालेन्द्र नेतृत्वको सरकारले नेपाली सेना सहितको सुरक्षा फौज प्रयोग गरी बल प्रयोगद्वारा अमानवीय ढङ्गले सुकुम्वासीहरूलाई निकालेको श्रेष्ठको आरोप रहेको छ ।