फुट्यो राप्रपा , धवल शमशेर समूह अलग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी औपचारिक रुपमा फुटेको छ । उक्त पार्टीका महामन्त्री डा. धवलशम्शेर राणाले पार्टीले स्थानीय तहको चुनावमा उम्मेदवार नपाउने अवस्था बनिसकेपछि विकल्प खोजेको बताएका छन् । आफ्नो नेतृत्वमा १८३ जना नेताहरूले सामूहिक राजीनामा दिएपछि भेलालाई सम्बोधन गर्दै आफूले ५ वर्ष पहिले राजेन्द्र लिङ्देनलाई अँगालो मारेर अध्यक्ष बनाएको स्मरण समेत गरे ।

उनले भने, ‘आज दुःखको साथ हामी आफ्नो घरैबाट छोड्नुपर्ने अवस्था आयो । त्यो खुसीको दिन होइन, आज दुःखको दिन हो। तर आफ्नो जिन्दगीमा, राजनीतिक यात्रामा केही हासिल गर्न आफूले बोकेको मूल्य र मान्यतालाई आफू बसेको घरबाट पार लाग्दैन भन्ने सोचेर हिम्मत गर्नुपर्छ र त्यो घर छोडेर अर्को घर पनि बनाउनुपर्छ । मक्किइसकेको चर्किसकेको घरबाट पार लाग्दैन। अब अर्को बनाउन सक्ने जमर्को गर्नुपर्छ। त्यही जमर्कोमा आज हामीहरू लागेका छौँ ।’

उनले विगतको चार वर्ष आफ्नो राजनीतिक जीवनको सबभन्दा दुःखी भएको बताए ।

उनले थपे, ‘मैले राप्रपालाई सही बाटो र एजेन्डा प्राप्तिको बाटोमा लग्न खोजेको थिएँ। आन्दोलनको नेतृत्व गरेको थिएँ, पार्टीलाई सुधारेर राष्ट्रकै पहिलो पार्टी बनाउन खोजेको थिएँ तर ती सबै मेरो प्रयासहरूलाई अगाडि बढ्न दिएनन् ।’

उनले महाधिवेशन गर्न नेतृत्वले कुनै पनि चासो नै नदेखाएको बताए ।

उनले भने, ‘महाधिवेशन नगर्नेतिर गएपछि विभिन्न बैठकमा महाधिवेशन मैले कुरा उठाएँ । तर पार्टी त्यता लागेन, पार्टीको परिस्थिति निर्वाचन, उपनिर्वाचनहरूमा हामीले देखिसकेका छौँ । अझै यही परिस्थितिमा गयौँ भने स्थानीय निकायसम्म उम्मेदवार नपाउने स्थिति हुन्छ। हाम्रो एजेन्डा धरापमा परिसक्यो, हाम्रो मूल्य र मान्यता अप्ठ्यारो स्थितिमा पुगिसक्यो ।’

उनले अब राष्ट्रवादी राजासहितको प्रजातन्त्र मान्ने पार्टी बनाउने बताए ।