मीन गुरुङले दिएकाे जग्गा एमालेले नलिने

काठमाडौं । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरूङले आफ्नो तर्फबाट अनुदानमा बनाइिदने पार्टी कार्यालय भवन नलिने भएको छ । जग्गा दानसहित भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमालेले धन्यावादसहित फिर्ता गर्ने भएको हो ।

सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको प्रस्तावमा गुरुङबाट दानमा लिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्खुमै कार्यालय बनाउने उल्लेख छ ।

‘कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता (मीनबहादुर गुरुङ दम्पत्ति) लाई धन्यवाद सहित उहाँहरूको प्रस्ताव फिर्ता गर्ने र अब नयाँ कार्यालय भवन मदननगर, बल्खुमै निर्माण गर्ने निर्णय गर्ने,’ एमालेको प्रस्ताव छ ।

गुरुङले दानमा दिने भनेको भवनको शिल्यान्यास ०८१ असोजमा ओली र गुरुङ दम्पतीले गरेका थिए । तर उक्त भवन निर्माण भएको थिएन ।

सचिवालय बैठकले अब बल्खुमै केन्द्रीय कार्यालय बनाउने प्रस्ताव अगाडि बढाएको छ । मदन–आश्रित दिवसको अवसर पारेर महासचिव शंकर पोखरेलले बल्खुमै कार्यालय बन्ने घोषणा गरिसकेका छन् ।

व्यावसायी गुरुङबाट दानमा जग्गा लिएर उनकै सौजन्यमा भवन पनि बनाउने निर्णयले एमालेमा ठूलो विवाद निम्त्याएको थियो ।