काठमाडौं । प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ। आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको सुनुवाइ गर्दै नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।
सुनुवाइ समितिले अनुमोदन गरेपछि अब संसद् सचिवालयले राष्ट्रपति कार्यालयमा जानकारी पठाउनेछ, जसका आधारमा उनको औपचारिक नियुक्ति हुनेछ। न्याय परिषद्ले पठाएका ६ जनाको नाममध्ये हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो ।
संवैधानिक परिषद्ले स्थापित वरिष्ठताक्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिस गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार लगायतले विरोध गरिरहेका छन्। हाल सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल छिन् र वरीयताक्रम अनुसार उनी नै प्रधानन्यायाधीशको आकांक्षी थिइन्।
सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेर प्रधानमन्त्रीलाई निर्णय लिन सहज हुने वातावरण तयार गरेको थियो। ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाले नै निर्णय गर्न सक्ने प्रावधान अध्यादेशमा राखिएको थियो। त्यही अध्यादेश आएपछि बसेको परिषद् बैठकले शर्माको नाम सिफारिस गरेको थियो।
शर्माको नाम सिफारिसप्रति प्रमुख विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले असहमति राखेका थिए। संवैधानिक परिषद्का दुई सदस्यको असहमतिका बीच शर्माको नाम परिषद्बाट निर्णय भएको थियो।










प्रतिक्रिया