सुकुम्बासी बस्ती खाली गर्न लागेपछि हर्कले रविलाई के भने ?

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुमबासी बस्ती खाली गराउने सरकारको तयारीको विरोध गरेका छन् । आज बिहानै सामाजिक सञ्जालमा २ स्टाटस लेख्दै साम्पाङले सरकार धनीको लागि नभई निमुखाको लागि बन्नुपर्ने बताएका छन् ।

हर्कको भनाइ छ, ‘अरुको रोदन र अरुको चित्कारलाई संगीत नठान ! गरिबको पीर र व्यथामा, समस्या त आवश्यकतालाई बुझ्न नसक्ने धनी र ठालु सरकार… तिम्लाई मेरो सुझाव छ ! गरिबको आत्मालाई रुवाएर सत्ता टिके पनि सफलता मिल्ने छैन तिम्लाई किनकि मैले । बुझेको सरकार भनेको धनीको लागि नभएर गरीब र निमुखाको लागि बन्नु पर्छ ! हिँड्न नसक्नेलाई काँध हाल्ने पो सरकार ! हिँड्न नसक्नेको वैशाखी खोस्ने के सरकार !’

रवि लामिछानेलाई उनले सुकुमबासी बस्ती भत्काउन रास्वपाकै निर्णय हो त ? भनी सोधेका छन् ।

हर्कले लेखेका छन्, ‘रवी जी… तपाईँको रास्वपाको निर्णय हो त सुकुमबासी बस्ती भत्काउने ? हिजो मात्रै सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप भन्दै भोट मागेको होइन र भन्या ? जे होस् बचनको पक्का देखियो रास्वपा ।’

साम्पाङले थप लेखेका छन्, ‘करोडौँको महलमा सुरक्षा फौज लिएर लाखौँको ओछ्यानमा हजारौँको डिनर गरेर आरामको निद्रा सुत्ने शासकलाई के थाहा घर टहरा गुमाएर अनाम नगरको पुलमुनि रातभरि कुकुर बिरालासँगै गन्हाउने ढल सुँघ्दै सुत्नेको पीडा ?’