काठमाडौं । गत भदौ २३ र २४ गतेको जेन-जी युवाहरूको आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार रहेका तीन जना फरार कैदीबन्दीलाई पक्राउ गरेको छ।
लागुऔषध मुद्दाका कैदी दाङ गढवा गाउँपालिका-१ बस्ने ३६ वर्षीय विनोद कुमाल, कर्तव्य ज्यान तथा डाका चोरी मुद्दाका रामेछाप लिखु गाउँपालिका–५ धोबीका ३३ वर्षीय प्रेम तामाङ तथा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नुवाकोट पञ्चकन्या गाउँपालिका-९ का २९ वर्षीय नवराज थापालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीले जानकारी दिए ।
काठमाडौंको विभिन्न ठाउँमा लुकीछिपी बस्ने गरेको सूचनाका उनीहरूलाई पक्राउ गरिएको कार्कीले बताए । फरार कैदीबन्दी कुमाललाई अदालतले लागुऔषध मुद्दामा एक वर्ष तीन महिना कैद, तामाङ कर्तव्य ज्यान तथा डाका चोरीसम्बन्धी मुद्दामा २५ वर्ष कैद हुने ठहरी कैद भुक्तानका क्रममा रहेको र थापा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका प्रहरीले जनाएको छ ।
तीनै जनालाई बिहीबार केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको छ ।










प्रतिक्रिया