काठमाडौं । सभामुख डीपी अर्यालले संसद्मा पारदर्शिता र पहुँच विस्तार गर्न आफू गम्भीर रहेको बताएका छन्। आज पत्रकारहरूसँगको अन्तर्क्रियामा बोल्दै सभामुख अर्यालले संसदीय गतिविधि र समितिहरूमा सञ्चारकर्मीहरूको सहज पहुँच सुनिश्चित गर्ने दिशामा काम भइरहेको बताएका हुन् ।
उनले भने, ‘म अहिले पनि सजिलै एक्सेस हुने मान्छे हुँ, मलाई यहाँहरूले गर्नुभएको फोन ८०र९० प्रतिशत भन्दा माथिको उठेकै होला।’
हाल प्रयोगमा रहेको अस्थायी संसद् भवनका कारण विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू भइरहेको स्वीकार गर्दै ती समस्या क्रमशः समाधान गरिने बताए। राष्ट्रपति आगमनजस्ता उच्चस्तरीय कार्यक्रममा समेत संरचनागत सीमितताका कारण असहजता भएको बताए।
पत्रकारहरूको पास, कार्ड तथा रिपोर्टिङ पहुँचसम्बन्धी विषयलाई सन्तुलित ढङ्गले व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याए। कुनै समूहलाई विभेद भएको अनुभूति नहुने गरी नीति बनाउनुपर्ने उनको जोड थियो।
प्रतिनिधि सभा नियमावलीको मस्यौदा तयार भइरहेको भन्दै नियमावली निर्माणमा सबैको सहभागिता र जानकारी आवश्यक रहेको बताए।
लोकतन्त्रको मूल आधार अभिव्यक्ति स्वतन्त्रता भएको उल्लेख गर्दै कानुन र संविधानको दायराभित्र रहेर सबैले आफ्नो धारणा राख्न पाउने स्पष्ट पारे।
विगतका केही अभ्यासहरू समयअनुकूल नहुन सक्ने भन्दै नयाँ पुस्ता, प्रविधि र वर्तमान सामाजिक संरचनाअनुसार नयाँ नजिर स्थापित गर्नुपर्ने उनको भनाइ छ।
संसदीय समितिहरू बन्द नगरी खुला र पारदर्शी रूपमा सञ्चालन गर्नुपर्ने अपेक्षा आफूले पनि लिएको बताए। आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउने तयारी भइरहेको समेत बताए।










प्रतिक्रिया