काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बयान आज(मंगलबार)देखि लिने भएको छ । शनिबार बिहान पक्राउ गरिएको ओली र लेखकलाई सोमबारसम्म कुनै बयान लिइएइको छैन ।
अदालतबाट ५ दिन हिरासतमा राख्ने अनुमति पाएको प्रहरीले अनुसन्धानका क्रममा ओली र लेखकको मंगलरबाट बयान लिने तयारी थालेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले २३ र २४ भदौको जाँचबुझ आयोग प्रतिवेदनमा केन्द्रीत भएर थप प्रमाणसमेत जुटाउने प्रयास प्रहरीले गरिरहेको बताए ।
ओली स्वास्थ्यको कारण अस्पताल भर्ना भएका छन् । ओलीलाई म्याद थपका लागि अनलाइनबाटै हाजिर गराइएको थियो । लेखक भने अदालत पुगेका थिए । ओलीले शनिबार बिहान मुटुमा समस्या भएपछि उपचार भइरहेको छ ।
आइतबार ओलीको शरीरमा मुटुको धड्कनसम्बन्धी समस्या हेर्न लागि ‘होल्टर मोनिटर’ राखिएको थियो । उक्त उपकरण मुटुको धड्कनको अवस्था हेर्नका २४ देखि ४८ घन्टासम्म लागि गर्छ । शनिबार गरिएको एक्स–रेमा ओलीको पित्तथैलीमा ढुंगा देखिएको थियो । तर, हालको अवस्थामा शल्यक्रिया गर्नुपर्ने तत्काल आवश्यकता भने नदेखिएको चिकित्सकहरूको भनाइ छ ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले ओली, लेखकलाई मुलुकी अपराध संहिताको दफा १८१ र १८२ अनुसार कारबाही गर्न सिफारिस गरेको थियो । दफा १८१ मा ‘कसैले लापर्बाहीपूर्ण काम गरेर कसैको ज्यान मार्न नहुने’ र १८२ मा ‘हेलचेक्र्याइँपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न नहुने’ भनिएको छ । दफा १८१ अनुसारको कसुर पुष्टि भए ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ भने दफा १८२ मा दुई वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।










प्रतिक्रिया