७७ वटै जिल्लामा ज्ञापनपत्र बुझाउँदै एमाले

काठमाडौँ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको रिहाइ माग गर्दै आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने भएको छ।

गौरीबहादुर कार्की आयोगले दोषी देखाएको भन्दै अध्यक्ष ओलीलाई हिजो निवासबाटै प्रहरीले पक्राउ गरेपछि एमाले सचिवालय बैठकले त्यसको विरोध गर्दै रिहाइका लागि ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।

एमाले प्रचार तथा प्रकाशन विभाग संयोजक मीन बहादुर शाहीका अनुसार, काठमाडौँमा माइतीघर मण्डलमा भेला भएर नारा जुलुससहित प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी छ । हिजो पार्टीसम्बद्ध जनसंगठनले माइती घरबाट बानेश्वरसम्म विरोध प्रदर्शन गरेका थिए ।

अध्यक्ष ओली पक्राउका विषयमा बिहान १०ः३० बजे कानूनविदहरुसँग अन्तरसंवाद गर्ने भएको छ । चौतारीले दिएको जानकारी अनुसार संगठनको केन्द्रीय कार्यालय पुतली सडकमा कार्यक्रम गर्न लागिएको हो ।