निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरूलाई निर्वाचन सफल पार्न सहयोगी भूमिका निर्वाह गरेकामा धन्यवाद दिएकी छिन् ।

नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरू आज प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका थिए  ।

उनीहरूबीच हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए। उनले निर्वाचनमा विजय हुनुभएका नेताहरूलाई बधाई पनि दिएको प्रेस सल्लाहकार रावलले बताए । 

प्रधानमन्त्री कार्कीले भने, “तपाईंहरूले निर्वाचनमा भाग लिनुभयो । यो निर्वाचनको पक्षमा सकारात्मक वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका निर्वाह गर्नुभयो । यसका निम्ति सबैलाई धन्यवाद छ । निर्वाचित प्रतिनिधिसभा सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना छ ।”

भेटका क्रममा नेकपाका संयोजक दाहालले भने, “यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान सक्ने सम्भावना थियो । यसमा जुन साहस र मेहनतका साथ तपाईंले काम गर्नुभयो, यो निकै महत्त्वपूर्ण र प्रशंसालायक छ ।” सुरुकै दिनदेखि आफू र आफ्नो पार्टी निर्वाचनको पक्षमा उभिएको पनि उनले स्मरण गरे ।

अस्तव्यस्त अवस्थामा रहेको मुलुकलाई सम्हालेर छ महिनाभित्रै चुनाव गराउने कार्य निकै चुनौतीपूर्ण भए पनि प्रधानमन्त्री कार्कीको छवि, इमान र दृढताका कारण सम्पन्न भएको उनीहरूको भनाइ छ । 

यसअघि प्रधानमन्त्री कार्कीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)लगायत राजनीतिक दलका नेता तथा प्रतिनिधिलाई भेट गरी निर्वाचन सफल पार्न सहयोगी भूमिका निर्वाह गरेकामा धन्यवाद दिइसकेकी उनको सचिवालयले जनाएको छ ।