रसुवा । स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा पर्न थालेको देखिन्छ । यातायातको सुविधासहित राजधानी काठमाडौँबाट नजिक पर्ने यस क्षेत्रमा हरेक वर्ष पर्यटक सङ्ख्या वृद्धि हुँदै गएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । धार्मिक तथा प्राकृतिक सम्पादका कारण पर्यटकको रोजाइमा परेकाले पर्यटकीयस्थलका रुपमा रसुवा चिनिन थालेको छ ।
लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गका यी नाम अब केवल भौगोलिक स्थान मात्र होइनन्, रसुवाको पर्यटन प्रवद्र्धनमा कामयावी भएका छन् । यसैका कारण पछिल्ला समय यस क्षेत्र पर्यटकीय हिसावले महत्वपूर्ण गन्तव्यका रुपमा परिचित हुन सफल भएको छ ।
पछिल्लो ४८ वर्षमा चार लाख ८० हजारभन्दा बढी विदेशी पर्यटकले यी क्षेत्रमा भ्रमण गरिसकेका छन् । हमाली यात्रामा आगन्तुक पर्यटकको सङ्ख्या बढ्दै गएकाले रसुवाको पर्यटन यात्रा जीवित इतिहास साक्षी भएको लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साह बताउँछन् ।
लाङटाङबाट सुरु भएको पर्यटन यात्रा
स्थानीयका अनुसार सुरुका दिनमा सडक अभाका कारण फाट्टफुट्ट देखिने पर्यटक लाङटाङसम्म आई क्याङ्जेनको चौँरीगोठमै बास बस्ने, त्यहीँको आगो ताप्दै रात कटाउँदै फर्किने गरेको अवस्थामा सीमित थियो । लाङटाङका स्वर्गीय रेञ्जन दोर्जे तामाङबाट सुरू भएको पर्यटन व्यवसाय सडक पूर्वाधारको विकाससँगै अहिले गाउँ समाजको लागि ठूलो वरदान सावित भएको छ । त्यही सङ्घर्षबाट लाङटाङको पूरै गाउँमा पर्यटकका लगि हिजोआज व्यवस्थित होटल, लज गणस्तरीय सेवासुविधासम्म आइपुगेको छ ।
करिब तीन हजार ९०० मिटर उचाइमा रहेको क्याङ्जेन जान आज पनि उस्तै कठोर छ, तर आतिथ्य भने अझ न्यानो बनेको छ । “हामी चिसोमा पनि पर्यटकलाई तातो महसुस गराउन चाहन्छौँ”, भन्छन् त्यहाँका व्यवसायी ढिण्डुप तामाङ ।
तामाङ सम्पदा मार्गः संस्कृतिसँगको भेट
लाङटाङको प्राकृतिक सौन्दर्यसँगै, तामाङ सम्पदा मार्गले संस्कृति र जीवनशैलीको कथा बोकेको छ । तत्कालीन समयमा ग्रामीण गरिबी निवारण पर्यटन कार्यक्रममार्फत २०५७ सालदेखि सुरु गरिएको यस मार्गले गतलाङ, चिलिमे तथा तातोपानी, थुमन, नाकथली र बृद्विमलाई नयाँ जीवन दिएको तातोपानीका होटल व्यावसायी दावा साङ्वो तामाङ बताउँछन् ।
बृद्विमको होमस्टे अहिले पर्यटकका लागि ‘घर जस्तै अनुभव’ बनेको छ । स्थानीय परिकारका खानेकुरा, परम्परागतका वेशवुषा र तामाङ संस्कृतिको आत्मीयता, यी सबैले पर्यटकलाई केवल घुम्न मात्र होइन, बाँच्न सिकाउने गरेको ‘होमस्टे’ व्यवस्थापन समितिका अध्यक्ष ङवाङ तामाङले जानकारी दिए ।
गोसाइँकुण्डः आस्था र रोमाञ्चको सङ्गम
चार हजार ३८० मिटर उचाइमा रहेको गोसाईंकुण्ड केवल ताल होइन, आस्थाको केन्द्र पनि हो । उकाली, ओराली, भञ्ज्याङ र चौतारी पार गर्दै पुगिने यो गन्तव्यले पर्यटकलाई शारीरिक चुनौतीसँगै आध्यात्मिक सन्तुष्टि पनि दिने गरेको छ ।
धार्मिक मार्गभर होटल–लजको व्यवस्था, चन्दनबारीदेखि लहुरी विनायक गोसाइँकुण्डसम्मको सहज बास तथा खाना र आपत्कालीन अवस्था परे उद्धारका लागि हेलिकप्टरसमेतको व्यवस्थाले यी सबै क्षेत्रको यात्रालाई सुरक्षित बनाएको चन्दनबारीका होटल व्यावसायी सुब्बा लामा बताउँछन् ।
बढ्दो पर्यटक, बढ्दो जिम्मेवारी
लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने यी क्षेत्रहरूमा चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सात हजार ६८४ विदेशी पर्यटकको आगमन भइसकेको छ । आन्तरिकतर्फ भने ३६ हजारभन्दा बढी पर्यटकले घुमेको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बताउँछन् । पर्यटकको आगमनका कारण राजस्वमा उल्लेखनीय योगदान पुगेको छ । तर सङ्ख्या बढ्दै जाँदा चुनौती पनि बढेका छन् ।
वन्यजन्तु संरक्षण, फोहर व्यवस्थापन, र प्राकृतिक सन्तुलन जोगाउने जिम्मेवारी अब सबैको साझा भएको छ । “तोकिएको ठाउँमा मात्र फोहर फालौँ, वनस्पति नकाटौँ”, निकुञ्ज प्रशासनको आग्रह छ ।
अझै बाँकी छन् अधुरा काम
पर्यटनको सम्भावना विशाल भए पनि पूर्वाधार निर्माणको काम बाँकी छ । नयाँ क्षेत्र नौकुण्ड, उत्तरगया, घलेगढीजस्ता स्थान पर्यटन क्षेत्रको नक्सामा सूचीकृत हुन बाँकी छन् । धुञ्चेस्थित नेपालको पहिलो तामाङ सङ्ग्रहालय भूकम्पपछि पुनःस्थापनाको प्रतीक्षामा छ । कुनै सरकारी सहयोग नमिल्दा सङ्ग्रहालय अझै बन्न नसकेको स्थानीय नागरिक समाजले जनाएको छ । राज्यबाट पुनर्निर्माणको कार्यसमेत अगाडि नबढेको स्थानीय बासिन्दा बताउँछन् ।
पदयात्रा मार्ग सुधार विश्रामस्थल निर्माण र फोहर व्यवस्थापनमा प्रयास भइरहे पनि पर्याप्त हुन सकेको स्थानीयको भनाइ छ ।
सजिलो यात्रा, छोटो दूरी
पहिले बेत्रावतीबाट सुरु हुने लामो पैदलयात्रा अहिले सडकमार्गले छोटिएको छ । काठमाडौँबाट धुञ्चेसम्म सीधा यातायात सञ्चालन भएसँगै पर्यटकलाई सहज भएको छ । तर होटल व्यवसायी सङ्घका अध्यक्ष विशाल घलेका अनुसार उच्च हिमाली क्षेत्रको भ्रमणका लागि कम्तीमा एक रात धुञ्चेमा बस्नैपर्दछ । रसुवाको यात्रामा हिमाली वातावरण मिलाइ लेक लाग्ने समस्या न्यूनीकरण गर्न काठमाडौँबाट रसुवा प्रवेश गरेका यात्रुले एक रात धुञ्चेमा बस्न उपयुक्त हुनेसमेत होटल व्यवसायी सङ्घका अध्यक्ष घलेले जानकारी दिए ।
गोसाइँकुण्डको यात्रालाई थप रोमञ्चकारी बनाइ अगाडि बढ्न धुञ्चे युवा समूहको पहलमा धुञ्चेबाट पूर्व पर्ने त्रिशूली नदी घट्टेखोला क्षेत्रमा १०८ धारासहितको गोसाईंकुण्ड द्वारधाम निर्माणको काम धमाधम अगाडि बढिरहेको छ । यसले आगामी दिनमा यात्रा थप रोमञ्चकारी बनाउने विश्वास लिइएको छ ।
जैविक विविधताको खानी
छयालीस प्रजातिका स्तनधारी, ३८० प्रजातिका चराचुरुङ्गी, रेडपाण्डाजस्ता दुर्लभ जनावर यी सबैले रसुवालाई प्राकृतिक प्रयोगशालाका रुपमा चिनाएको छ । तर यी सम्पदालाई नजिकबाट अनुभव गर्ने संरचनाको विकास भने हुन बाँकी छ ।
सम्भावनाको उज्यालो बाटो
रसुवाको हिमाली पर्यटन अहिले सम्भावनाको शिखरमा रहेको अवस्था छ । पर्यटन व्यवसाय विगतको सङ्घर्ष, वर्तमानको विस्तार र भविष्यको आशा, यी सबै मिलेर प्रगति पथमा लम्किँदै गरेको छ । रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार प्रकृति, संस्कृति र साहसको सङ्गम भएको रसुवा अब केवल गन्तव्य मात्र होइन, अनुभव बन्ने बाटोमा अघि बढेको छ । पूर्वाधार, संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिन सकियो भने, काठमाडौँबाट नजिकै रहेको हिमाली जिल्ला रसुवा नेपालकै प्रमुख पर्यटकीय केन्द्रको रुपमा स्थापित हुने उनको भनाइ छ ।










प्रतिक्रिया