बैठकमा बाेलेर ढलेका एमाले नेता थापाकाे निधन

पोखरा । निर्वाचन समीक्षा बैठकमा बोल्नासाथ ढलेका एमाले कास्की इन्चार्ज कृष्ण थापाको निधन भएको छ ।

एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्यका अनुसार मणिपाल मेडिकल कलेजले उनको निधनको घोषणा गरेको हो ।

निर्वाचन समीक्षा कार्यक्रममा आफूले बोल्नासाथ कुर्सीमा बसेका थापा त्यहीँ ढलेका थिए ।

महानगर अध्यक्ष आचार्यका अनुसार १० मिनेटभित्रै मणिपाल मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । त्यहाँ पुग्दासम्म श्वासप्रश्वास चलेजस्तो लागेको, तर केही समयमै चिकित्सकले मृत घोषणा गरेका हुन् ।

फागुन २१ को चुनावका लागि एमालेले सुरूमा कास्की-२ बाट थापालाई टिकट दिएको थियो । पछि रश्मी आचार्यलाई अघि सारियो । थापाकै प्रस्तावमा रश्मीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेले बताएको थियो ।

रश्मी रास्वपाका उत्तम पौडेलसँग पराजित भए । उत्तमले ३१९११ भोट पाउँदा रश्मी ७४९३ मतमा रोकिए ।

२०५४ को स्थानीय तह निर्वाचनमा पोखरा नगरपालिकाको मेयर निर्वाचित थापा संविधानसभा सदस्य थिए । उनी एमाले कास्कीको अध्यक्ष हुँदै तीन कार्यकाल केन्द्रीय सदस्य भएका हुन् ।