बन्दुक पड्काउने रहर गर्दा युवककाे ज्यान गयाे

डडेल्धुरा । डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ।

परशुराम नगरपालिका–२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा १७ वर्षीय सुवास महरा गम्भीर घाइते भएका थिए ।

बैतडीको शिवनाथ गाउँपालिका–४ घर भएका महरा आफ्नी दिदी जानकी बोहराको घरमा बस्दै आएका थिए। बन्दुक पड्किएपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो। चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले परशुराम नगरपालिका–२ बसौटीका गणेशबहादुर बोहरा र बैतडी शिवनाथ गाउँपालिका–४ का अर्का १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ। घटनास्थलबाट भरुवा बन्दुकसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।