काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बङ्गलादेशको निर्वाचन परिणामले विध्वंसमा संलग्न हुनेहरूलाई अस्वीकार गरेको देखिएको बताएका छन्।
निर्वाचनमा मतदान जारी रहेको बेलामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जनताले अराजकतालाई अस्वीकार गरेको देखिएको बताएका हुन्।
उनले भने, ‘मुलुकलाई अराजकता र विध्वंस तर्फ लिएर जाने कुराले दीर्घकालीन हितमा हुँदैन भन्ने कुरा जनताले महसुस गरेको देखिन्छ । पछिल्लो समयमा नेपालकै जस्तै घटना घटेका मुलुक श्रीलङ्का र बंगलादेशमा भएका निर्वाचनका परिणामहरूले पनि राष्ट्रको विध्वंसमा संलग्न हुनेहरूलाई अस्वीकार गरेको देखिन्छ । अराजकतालाई अस्वीकार गरेको देखिन्छ, अस्थिरतालाई अस्वीकार गरेको देखिन्छ ।’
उनले श्रीलङ्का र बङ्गलादेशका जनताले जस्तै नेपालका जनताले पनि अराजकतालाई अस्वीकार गर्ने विश्वास व्यक्त गरे। मुलुकको लोकतन्त्र, संवैधानिक व्यवस्था र राष्ट्रिय हितका प्रश्नहरू जोखिममा परेका बेला जनमतका माध्यमबाट पुनर्स्थापित गर्ने कुराको ठुलो महत्त्व हुने बताए।
उनले भने, ‘राजनीतिक स्थिरताको पूर्वानुमान गर्न गाह्रो हुन्छ । तर नेपालको राजनीतिक अस्थिरता नेपालको विकास र समृद्धिको बाधक हो भन्ने कुराको महसुस अब आम जनतामा पर्नु जरुरी छ । यतिबेला हाम्रो समाजमा देखापरिरहेको पपुलिजम र अराजकता नेपालको राजनीतिक स्थायित्वको चुनौतीका रूपमा रहेको छ ।’
उनले निर्वाचनका माध्यमबाट सबै चिजको समाधान हुने विश्वास व्यक्त गर्दै एमाले मुख्य शक्तिका रूपमा स्थापित हुने बताए।










प्रतिक्रिया