दाङ । नेकपा (एमाले) का महासचिव तथा दाङ निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार शङ्कर पोखरेलले चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्रीप्रति आपत्ति जनाएका छन् ।
पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उक्त सामग्री केवल सञ्चार सामग्री मात्र नभई भूराजनीतिक चलखेलको संकेत भएको उल्लेख गरेका छन् ।
“चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन-यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो । नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य छ । चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो”, पाेखरेलले भनेका छन् ।
उनले नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य हुने बताएका छन् । चुनावजस्तो संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो भन्ने प्रश्नसमेत उनले उठाएका छन् ।
पोखरेलले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैं गर्नुपर्नेमा जोड दिँदै नेपालको सार्वभौमिकता साझा जिम्मेवारी भएको बताएका छन् । सूचना स्वतन्त्र हुनुपर्ने भए पनि त्यसको समय, सन्दर्भ र उद्देश्य पारदर्शी हुनुपर्ने उनको धारणा छ ।
“हामीले बुझ्नुपर्छ: लोकतन्त्रको रक्षा नेपाली जनताले आफैं गर्नुपर्छ । नेपालको सार्वभौमिकता हाम्रो साझा जिम्मेवारी हो । सूचना स्वतन्त्र हुनुपर्छ, तर समय, सन्दर्भ र उद्देश्य पनि पारदर्शी हुनुपर्छ । भूराजनीतिक दबाब र प्रोपागान्डाको खेलमा नेपाललाई प्रयोग हुन नदिऔँ-सचेत बनौँ, तथ्य जाँचौँ, र राष्ट्रिय हितको पक्षमा उभिऔँ”, उनले लेखेका छन् ।
भूराजनीतिक दबाब र प्रोपागान्डाको खेलमा नेपाललाई प्रयोग हुन नदिन सचेत रहन, तथ्य जाँच्न र राष्ट्रिय हितको पक्षमा उभिन उनले आह्वान गरेका छन् ।









प्रतिक्रिया