आचारसंहिता पालना नगर्ने १२ वेभसाइट ब्लक

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत प्रकाशित तथा प्रशारित सामग्रीमाथि निगरानी बढाएको छ। आयोगले स्थापना गरेको सूचना सदाचार प्रवर्द्धन एकाइले चुनावसँग सम्बन्धित सूचनाको अध्ययन गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिरहेको छ।

सूचना अधिकारी सुमन घिमिरेका अनुसार अहिलेसम्म एकाइमा ६१२ उजुरी आएको छ। यी उजुरीमाथि छानबिन गरी केही व्यवस्थापन, केही हटाउन र सम्बन्धित निकायमा पत्राचार गर्ने काम भइरहेको छ।

नेपाल प्रहरीको साइबर ब्युरोलाई ३३६ वटा सामग्री हटाउन पत्राचार गरिएकोमा १२९ वटा सामग्री हटाइएको छ। त्यस्तै, आचारसंहिता उल्लङ्घन गर्ने १२ वेबसाइटलाई ब्लक गरिएको छ। 

नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि यी वेबसाइट ब्लक गर्न अनुरोध गरिएको थियो। आयोगका अनुसार ती साइटले निर्वाचन नतिजा पूर्वानुमान गर्दै भ्रामक र अनुमानित सूचना सार्वजनिक गरेका थिए।

प्रेस काउन्सिल नेपालमा पठाइएका ७४ उजुरीमध्ये ३२ सामग्री हटाइएको छ। उच्चस्तरीय अनुगमन समितिले आचारसंहिता उल्लङ्घन गरेको आरोपमा विभिन्न ९० व्यक्तिसँग स्पष्टीकरण लिएको छ। जिल्लास्तरमा गठित अनुगमन समितिले पनि सामग्री निगरानी र नियन्त्रणमा काम गरिरहेको छ।

निर्वाचन आयोगले निर्वाचन अवधिभर आचारसंहिता विपरीत गतिविधि रोकथाम र सामग्री हटाउने काम निरन्तर गर्ने जनाएको छ।