गौरमा दुई समूहबीच झडप, सुरक्षा व्यवस्था कडा बनाईयो

रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका ६ सबगढा गाउँमा दुई समुदायबीच झडप उत्पन्न भएपछि त्यहाँ सुरक्षा व्यवस्था कडा बनाईएको छ ।
सबगढा गाउँमा बिहीबार राति एक हिन्दु समुदायको विवाहमा बाजा बजाउँदै जन्ती गएको थियो । सबगढा गाउँमा रहेको मुस्लिम समुदायको मस्जिदमा रातिको समय नवाज पढिरहेको बेला बाजा बजाएको विषयलाई लिएर भनाभन भएको थियो ।

भनाभन पछि मुस्लिम समुदायका केही मानिसले बाजा बजाउने डिजे ग्रुपका केही मानिसलाई कुटपिट गरेका थिए । त्यही विषय लिएर आज बिहानै देखी पुनः दुई समुदायबिच झडप भएको हो । झडपपछि त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आज बिहानैदेखि दुवै पक्षबाट ढुङ्गा हानाहान भइरहेको छ । अवस्था नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी अढाई सय बढी सुरक्षाकर्मी परिचालन गरिएको हो ।