काठमाडौं । पैदलयात्रीलाई कुटपिट गरेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति पारस बम रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उक्त घटना महाराजगञ्जस्थित चप्पल कारखाना अगाडिको सडकमा भएको हो । सडकमा हिँडिरहेका पैदलयात्रीलाई कार चालकले गाडी रोकेर झरेपछि गालीगलौज गर्दै मुक्का हानेको भिडियो सार्वजनिक भएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको थियो ।
सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा कारबाट झरेका व्यक्तिले पैदलयात्रीमाथि आक्रमण गरेको स्पष्ट देखिन्छ । भिडियोमा त्यसपछि अर्को एक महिलाले पनि गाली गरेको आवाज सुनिन्छ ।
भिडियोमा एकजना अधवैंशे बा.३ च ११०३ नम्बरको जीपबाट झरेर हिँडिरहेका ती वृद्धमाथि गाली गर्दै हातपात गरेका देख्न सकिन्छ।
भाइरल भिडियोका आधारमा घटनास्थल पहिचान गरी अनुसन्धान अगाडि बढाएको ट्राफिक प्रहरीले सम्बन्धित कार चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
‘ए जँडिया के भन्या ओई तैँले,’ भन्दै ती चालकले वृद्धको टाउकोमा मुक्का हानेका थिए । चालकसँगैकी महिला पनि वृद्धलाई गाली गर्दै खनिएकी थिइन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराई सडकमा वृद्ध कुट्नेलाई नियन्त्रणमाा लिएको पुष्टि गरे । उनका अनुसार पैदलयात्रीलाई मुक्का हान्ने व्यक्तिलाई ट्राफिक प्रहरीले नियनणमा लिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ ।










प्रतिक्रिया