जनकपुरधाम। सप्तरीको रुपनी गाउँपालिका–६ दुधौली खोला क्षेत्रमा आज भएको विस्फोटमा नेपाली सेनाको अभ्यासका क्रममा हराएको बम नै विस्फोट भएको पुष्टि उच्च स्रोतले गरेको छ ।
प्रहरी निरीक्षक प्रमोद साहको कमाण्डमा खटिएको टोलीले प्रारम्भिक अनुसन्धानपछि उक्त निष्कर्ष निकालेको हो।
उच्च स्रोतका अनुसार उक्त क्षेत्रमा करिब एक महिना अघि नेपाली सेनाको फायरिङ अभ्यास सम्पन्न भइसकेको थियो। अभ्यास सकिएपछि एक बम हराएको आशंकामा सेनाको १५ सदस्यीय टोली लामो समयसम्म घटनास्थल वरपर बस्दै खोजतलासमा जुटेको थियो। तर सो बम समयमै फेला नपरेकै अवस्थामा शनिबार विस्फोट भएको प्रारम्भिक पुष्टि भएको हाे ।
विस्फोटपछिको अवस्थालाई मध्यनजर गर्दै नेपाली सेना श्री बरख गणबाट सहायक सेनानीको कमाण्डमा बम स्क्वाड टोली घटनास्थलमा खटाइएको छ। सुरक्षाका सबै मापदण्ड अपनाउँदै विस्फोटको प्रकृति, अवशेष र स्रोत पहिचान गर्ने काम भइरहेको प्रहरीको उच्च अधिकारीले जानकारी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीले यस घटनालाई अत्यन्त संवेदनशील मान्दै सबै कोणबाट गहन अनुसन्धान भइरहेको जनाएको छ। विस्फोटमा प्रयोग भएको वस्तुको आधिकारिक पुष्टि, जिम्मेवारी निर्धारण र सम्भावित लापरबाहीबारे समेत छानबिन अगाडि बढाइएको प्रहरीको भनाइ छ।
शनिबार भएको विस्फोटमा चार जना बालक घाइते भएका थिए। हाल चारै जना खतरामुक्त रहेको सप्तरी प्रहरीले जनाएको छ। तर घटनाले सैन्य अभ्यास क्षेत्रको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको भन्दै स्थानीय र सुरक्षा निकायबीच चासो तीव्र बनेको छ।










प्रतिक्रिया