धनुषाका १९४ मतदानस्थल अतिसंवेदशनशील

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले यहाँका १९४ मतदानस्थल अतिसंवेदशनशील रहेको जनाएको छ । जिल्लामा रहेका ३२२ मतदानस्थलमध्ये १९४ अति अतिसंवेदशनशील,१०६ वटा संवेदशनशील र २२ वटा सामान्य सूचीमा वर्गीकरण गरिएको कार्यालयको भनाइ छ ।

जिल्लामा मतदान केन्द्रको सङ्ख्या  ६४५  छ । खुल्ला सीमा नाका, बढी मतदाता, विगतका निर्वाचनमा मतदानको वर्षमा भएको विभिन्न किसिमको उत्पन्न समस्याका कारण मतदानस्थलहरुको वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए । एक मतदान केन्द्रमा १० देखि १२ जना सुरक्षाकर्मी परिचालन गरिने उनले बताएका छन्  ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै सुरक्षा प्रमुखको सहभागितामा अति संवेदनशील मतदानस्थलको आज पनि अनुगमन गरिएको छ । नेपाल–भारतको सीमानासँग जोडिएको मतदानस्थलको अनुगमन भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिए ।

मधेस प्रदेश निर्वाचन कार्यालयका अनुसार धनुषाका चार निर्वाचन क्षेत्रमा पाँच लाख १४ हजार ५७१ जना मतदाता छ । जसमा पुरुष दुई लाख ७६ हजार १२६ जना, महिला दुई लाख ३८ हजार ४३५ र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (अन्य) १० जना मतदाता छन् । सो निर्वाचनमा छ हजार ५०० कर्मचारी खटिनेछ । खटिने कर्मचारीको विवरण सङ्कलन भइरहेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषामा चारवटा निर्वाचन क्षेत्रमा १४२, क्षेत्र नं २ मा ३४, क्षेत्र नं ३ मा ४५ र क्षेत्र नं ४ मा ३७ जना उम्मेदवार छन् ।