बालेनका समर्थकहरु गाडीबाट खस्दा पाँच घाइते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थल नजिकै सडकमा गाडीबाट खस्दा पाँच जना घाइते भएका छन् ।

बालेन शाह नेपालगञ्ज पुग्ने कार्यक्रमसँगै उनका समर्थकहरू राँझा विमानस्थल क्षेत्रमा पुगेका थिए । यस क्रममा समर्थक सवार एक गाडीको पछाडिको ढालाबाट केही व्यक्ति खसेकाे जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले बताए ।

उनका अनुसार ४–५ जना समर्थक गाडीबाट खसेका हुन् । “विमानस्थलभित्रकै सडक भएकाले गाडी तीव्र गतिमा थिएन, घाइतेहरू सबैको अवस्था सामान्य छ,” एसपी जिसीले बताए।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा बालेन शाह रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवारसमेत बनेका छन् । उनी हाल चुनावी प्रचार–प्रसारका लागि पश्चिम नेपालमा छन् ।

झापा–५ बाट उम्मेदवारी दर्ता गराएका बालेन पूर्वी पहाडी जिल्लाको भ्रमण सकेर काठमाडौं फर्किएका थिए। त्यसपछि उनी सोमबार पश्चिमतर्फको चुनावी अभियानमा निस्किएका हुन् ।