काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्ष र संस्थापन पक्षबीच आज वार्ता हुँदैछ ।
विशेष महाधिवेशनको नेतृत्व गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको टोली वार्तामा बस्न लागेको हो। आजको वार्तामा विशेष पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी हुनेछन्।
संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण सहभागी हुने जनाइएको छ। विशेष पक्षले सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षलाई वार्ताका लागि बोलाए पनि उनीहरू भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा उपस्थित भएनन्।
सभापति देउवाले विशेष महाधिवेशनलाई मान्यता नदिने सन्देश निकटस्थमार्फत दिँदै आएको बताइएको छ । कांग्रेसका ५१ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले तत्काल नीति र नेतृत्व परिवर्तनको माग गर्दै आएका छन्।
संस्थापन पक्षले बेवास्ता गरे विशेष महाधिवेशनबाट आजैदेखि निर्वाचन प्रक्रिया थाल्ने चेतावनी दिइएको छ। आज हुने भनिएको वार्ताको स्थान र समय भने तय भइसकेको छैन।
वार्तापछि विशेष महाधिवेशनको आगामी दिशा तय हुने नेताहरूले बताएका छन्।









प्रतिक्रिया