चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपक्षी गणना सकिएको छ । यही पुस २४, २५ र २६ गते (जनवरी ८, ९ र १० तारिख) जिल्लामा जलपक्षी गणना गरिएको हो । नेपालमा हरेक वर्ष जनवरी ३ बाट १८ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ ।
नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु विडारीका अनुसार चितवनको लोथरदेखि गणना गरिएको हो । नदीहरुमा ताल तलैयामा चरा गणना गरिएको हो । गणनाका लागि ७० चराविज्ञ सहभागी भएका थिए । उनीहरुले अहिले जलपक्षीको प्रजाती छुट्याउने काम गरिरहेको उहाँले बताए । उनले भने, “अहिले अध्ययनको काम चलिरहेको छ, एक दुई दिनमा नतिजा आउँछ ।”
लोथर खोलाबाट, जिन्दगानीघाट, सौराहा, ढुङ्ग्रे खोला, कसरा पुल हुँदै राप्ती नदीमा चरा गणना गरिएको छ । नरायणी नदी, माडीको रिउ खोला, बाटुलीपोखरी, कुमाल ताल, टिकौली ताल, सत्रहजारी ताल र नहर क्षेत्र, निकुञ्जभित्रका लामिताल, तमोर ताल, पटना ताल, भण्डाराको मत्स्यपालन केन्द्र, बुढी राप्तीको चित्रसारी पुलबाट राप्ती दोभानसम्म गणना गरिएको हो ।
वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष विजय गिरीका अनुसार राप्ती नदीको घडगाईबाट गोलाघाटसम्म, नारायणीको पूर्वी भङ्गला, नारायणीकै गाँजापुरबाट गोलाघाटसम्म र दिव्यनगरका घोल एवं फाँटमासमेत गणना गरिएको छ । वर्ड एजुकेशन सोसाइटी, नेपाल पक्षीविद् सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनको सहकार्यमा गणना गर्न गरिएको उनले जानकारी दिए । उनका अनुसार पैदल, डुङ्गाको सहायता र गाडीबाट चरा गणना गरिएको हो ।
बाइनाकुलार क्यामेरा, जिपिएस, साउण्ड रेकडर लगायतको प्रयोग गरी चराको गणना गरिएको हो । गत वर्ष चितवनमा ५३ प्रजातिका आगन्तुक जलपक्षी भेटिएका थिए । सङ्घका अध्यक्ष विडारीका अनुसार देशभर ९०४ प्रजातिका चरा पाइन्छन् भने चितवनमा ६६२ प्रजातिका चरा पाइन्छन् । नेपालमा सन् १९८७ बाट चरा गणना थालिएको हो । यस वर्ष ६०औँ पटक गणना गरिँदै हो ।
नेपालमा जलपक्षी ठूलो सङ्ख्यामा चीनबाट आउने गर्दछन् । मङ्गोलिया, रुसको दक्षिणी भाग, साइबेरीया,मध्य एशियालगायतका ठाउँबाट धेरै चरा आउँछन् भने पूर्वी युरोपबाट निकै कम चरा आउने उनले जानकारी दिए । चिसो छल्नका लागि चरा यहाँ आउने गरेको विडारीले बताए । चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गर्ने गरिएको छ ।










प्रतिक्रिया