काठमाडौं । नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्द सत्र आज काठमाडौँको भृकुटीमण्डपमा हुँदैछ। बन्द सत्र बिहान १० बजेदेखि सुरु हुने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ ।
यसअघि बिहान ८ बजेदेखि बन्द सत्र सुरु गर्ने तयारी थियो। तर महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया बाँकी रहनु र खाजाको समय छुट्याइएकाले कार्यक्रम दुई घण्टा ढिला भएको हो ।
आइतबार बेलुकी ९ बजेसम्म २ हजार ६६२ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेका छन् । कुल प्रतिनिधिमध्ये ५६.१२ प्रतिशत सहभागी भइसकेको महाधिवेशन पक्षधरको दाबी छ ।
व्यवस्थापन उपसमिति अन्तर्गत प्रचार-प्रसार संयोजक सुवास पोखरेलका अनुसार बिहान ८ बजेदेखि दर्ता र खाजाको क्रम सुरु भएको छ भने १० बजेदेखि बन्द सत्रका कार्यक्रम अघि बढ्नेछन् ।
महाधिवेशन प्रतिनिधिको दर्ता सातै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर सञ्चालन गरिएको छ । आइतबार उद्घाटन सत्र सकिएपछि दर्ता प्रक्रिया बन्द गरिएको थियो ।
प्रतिनिधिहरूको माग बमोजिम महामन्त्री गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन बोलाइएको हो । बन्द सत्रको सभापतित्व ज्येष्ठ सदस्यले गर्नेछन् । बन्द सत्रमा नीतिगत तथा संगठनात्मक प्रतिवेदन पेस गरिने कार्यविधि तय गरिएको छ ।










प्रतिक्रिया