सफारी चालकमाथि गाेली हान्ने सशस्त्र हवल्दार पक्राउ

काठमाडौं । सुनसरीको लौकहीमा सफारी चालकमाथि गोली हान्ने सशस्त्र प्रहरीका हबलदार पक्राउ परेका छन्।

बिहीबार बिहान करिब १ बजे भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका सफारी चालक विजय साहमाथि सशस्त्रले गोली चलाएको थियो । गोली लागेर साहको घटनास्थलमै मृत्यु भएपछि गोली हान्ने हवल्दारलाई हिजै नियन्त्रणमा लिएर अनुसन्धान थालेको सुनसरी प्रहरी प्रवक्तासमेत रहेका डीएसपी खड्काले बताए।

उक्त घटना छानबिनका लागि हिजै सुनसरीका सहायक सीडीओ घनश्याम न्यौपाने संयोजक, डीएसपी चन्द्र खड्का र राष्ट्रिय अनुसन्धानका अधिकृत रहेको समिति बनेको थियो । त्यसपछि हिजै लौकहीस्थित सशस्त्रको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत सबै सुरक्षा कर्मचारीलाई फिर्ता बोलाइएको छ ।

छानबिन समितिलाई ७ दिनको म्याद दिएको र घटनाको प्रतिवेदन आएपछि थप कदम चालिने सुनसरीका सीडीओ वासुदेव घिमिरेले बताए ।