काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो साता बोलाउने तयारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालबीच यस सम्बन्धमा पुस १४ मा भेट भएर छलफल भएको थियो।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलका अनुसार, “सरकार राष्ट्रिय सभाको बैठक बस्ने तयारीमा छ । प्रक्रिया अगाडि बढाइरहेका छौं र अधिवेशन यही पुसको तेस्रो वा चौथो सातामा बस्नेछ ।´´
राष्ट्रपतिले सरकारको सिफारिसमा अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । अधिवेशन आह्वान गर्दा सामान्यतया एक साताको समय दिने परम्परा छ । मन्त्रिपरिषद् पनि बिहीबार बस्दैछ र उक्त बैठकमा यस विषयमा छलफल हुने सम्भावना छ ।
गत भदौ ३१ गते राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको थियो । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि तत्कालीन सरकार ढलेको थियो र २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । आन्दोलनको क्रममा नयाँ वानेश्वरस्थित संसद भवनमा आगलागी समेत भएको थियो ।
यसपटक वैकल्पिक रूपमा सिंहदरवारस्थित कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा बैठक बस्ने तयारी गरिएको छ । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, “हल व्यवस्थापनको काम अन्तर्गत सिभिल वर्क सकिएको छ, अडियो र भिडियो प्रणालीको काम बाँकी छ, छिट्टै सम्पन्न हुनेछ ।”
अधिवेशनमा केही विधेयक, सरकारले ल्याएका अध्यादेश, संसदीय समितिका अध्ययन प्रतिवेदन र वार्षिक प्रतिवेदनहरू प्रस्तुत हुनेछन् । सांसदहरूले संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव र सार्वजनिक महत्वका प्रस्तावहरू पनि राख्न सक्नेछन् । साथै, मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम पनि सञ्चालन हुने व्यवस्था छ ।










प्रतिक्रिया