काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेतासँग चुनाव सफल पार्न कुनै अलमल नगर्न आग्रह गरेकी छिन् ।
आज बालुवाटारमा भएको छलफलमा सहभागी हुने क्रममा उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चुनावी तयारीबारे छलफल गरेकी हुन्।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘अब कुनै अलमल नगरी यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौँ। यो हामी सबैको जिम्मेवारी हो।’
आफू न्याय क्षेत्रमा काम गरेको स्मरण गराउँदै कार्कीले राष्ट्रपतिबाट निर्वाचन गराउने कार्यादेश पाएपछि सरकार पूर्ण रूपमा चुनावको तयारीमा लागेको स्पष्ट पारिन् । उनले भनिन्, ‘प्रशासनिक काम-कारबाहीबाट अलग भएर पूरै निर्वाचनमा होमिनकै लागि रक्षाबाहेक मसँग रहेका सबै मन्त्रालय अन्य मन्त्रीलाई जिम्मा लगाइसकेको छु।’
निर्वाचन सफल पार्न सबै दलको सहभागिता आवश्यक भएको उल्लेख गर्दै उनले भनिन्, ‘यो निर्वाचन जसरी पनि सफल पारौँ। सबै यसमा सहभागी हुनुपर्छ।’
प्रधानमन्त्री कार्कीले निर्वाचनप्रति सकारात्मक वातावरण बनेको र तीन दलका नेताहरू चुनावका लागि तयार भएको देखेर स्वागतयोग्य रहेको पनि बताइन्।
साथै, उनले निर्वाचन आयोग र सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलब्ध गराइसकेको जानकारी दिइन् । ‘हामीले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई भनेजति नै स्रोतसाधनको व्यवस्था गरेका छौँ। सुरक्षाकर्मीको मनोबल बढेको कुरा यहाँहरूले पनि महसुस गर्नुभएकै होला,’ उनले भनिन्।










प्रतिक्रिया