काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चार दिनभित्र दुई जना उपाध्यक्षमाथि कारबाही गरेका छन् ।
उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई निलम्बन गरेको ३ दिनपछि शनिबार अर्का उपाध्यक्ष डा मित्र परियार पनि कारबाहीमा परेका हुन्।
धरानका मेयरसमेत रेहका श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले शनिबार (पुस ५ गते) सामाजिक सञ्जालमा लेखेका छन्, ‘श्रम संस्कृतिमा कोही सानो, कोही ठूलो हुँदैन। आज शनिबार उपाध्यक्षले बुटवलका आयोजकलाई गरेको अपमान र सह–संयोजकलाई बोलेको अपमानजन्य बोलीका कारण आचारसंहिता उल्लंघन भएकोले नसच्चिएसम्म कारबाही गरिएको जानकारी गराउँदछु।’
शनिबार देशदौडाहा कार्यक्रमअन्तर्गत श्रम संस्कृति पार्टीले रुपन्देहीको बुटवलमा सभा आयोजना गरेको थियो। जसलाई उपाध्यक्ष परियारले पनि सम्बोधन गरेका थिए। तर त्यस क्रममा परियार आयोजकप्रति आक्रोशित हुँदै बोलेका थिए।
सम्बोधनको सार्वजनिक भिडिओमा परियार भनिरहेका छन्, ‘साथीहरू ! यहाँ आयोजक साथीहरूले अलिकति मिस्टेक गर्नुभएको छ। ध्यान त्यता बोल्ने यता हुन सक्दैन साथीहरू, म केन्द्रीय उपाध्यक्ष हो, मैले पनि बोल्न पाउनुपर्छ, ध्यान अन्त मोडिनु हुँदैन।…’
यसअघि अर्का उपाध्यक्ष तामाङलाई भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेपछि श्रम संस्कृति पार्टीले निलम्बन गरेको थियो।
उनको सन्दर्भमा अध्यक्ष साम्पाङले पुस २ मा विज्ञप्ति जारी गरी भनेका छन्, ‘सरकारी अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्ना खातिर अनुसन्धानको अन्तिम टुंगो नलागुन्जेलसम्म आजैको मितिबाट पार्टीको उपाध्यक्षको पदबाट निलम्बन गरिएको बेहोरा सबैलाई जानकारी गराउँदछु।’
राजकुमारविरुद्ध जिल्ला प्रहरी कार्यालय, पाँचथरमा विस्फोटक पदार्थसम्बन्धी मुद्दा दर्ता भएको छ। त्यही मुद्दामा उनलाई सीआईबीले गत मंगलबार बुढानीलकण्ठ नगरपालिका–११ कपनबाट पक्राउ गरेको थियो। थप कारबाहीका लागि उनलाई पाँचथर पठाइएको छ।










प्रतिक्रिया