एमाले महाधिवेशनको तयारी तीव्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको तयारी तीव्र रुपमा अघि बढाइएको छ ।

महाधिवेशन व्यवस्थापन तयारीका विषयमा आज सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा महासचिव शङ्कर पोखरेलसहितका नेताहरूबीच छलफल भएको छ । छलफलमा उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरू, तोकिएका सङ्गठन विभागका प्रमुखसहित विभागीय प्रमुखहरू, स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य तथा व्यवस्थापन समिति सचिवालयमा रहेका अन्य नेताहरू सहभागी थिए ।

महाधिवेशनका लागि जिल्ला र प्रवासहरूबाट प्राप्त प्रतिनिधिको सूचीलाई केन्द्रीय सङ्गठन विभागले अन्तिम रूप दिने कार्य गरिरहेको बैठकमा जानकारी गराइएको छ । गत मङ्सिर १३ गते सबै मातहतका कमिटी र जनसङ्गठनमा देखिएका विवाद समाधान भएपछि प्रतिनिधि सूची पूर्णरूपमा केही दिनमै टुङ्गो लाग्ने जनाइएको छ । ओखलढुङ्गा र धनकुटाका विवाद बाहेक अन्यका महाधिवेशन प्रतिनिधिको सूची तयार भइसकेको छ ।

बैठकपछि उपमहासचिव ज्ञवालीले महाधिवेशनका सबै तयारीहरू उत्साहजनक रूपमा अगाडि बढिरहेको जानकारी दिए । महाधिवेशनमा करिब दुई हजार चार सय भन्दा बढी प्रतिनिधि सहभागी हुने प्रारम्भिक अनुमान गरिएको छ । देशभरका प्रदेश, जिल्ला, जनसंगठन तथा मोर्चा संगठनहरूबाट चयन हुने प्रतिनिधिहरूले नेतृत्वसम्बन्धी महत्त्वपूर्ण निर्णयमा सहभागी हुनेछन् ।

महाधिवेशन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने कार्यक्रम छ ।