विद्यार्थी मूल्यांकन सम्बन्धि कार्यशाला

पाल्पा । पाल्पा जिल्लाको बगनासकली गाउँपालिकामा एकीकृत पाठ्यक्रम कष्टमाइज अन्तर्गत निरन्तर विद्यार्थी मूल्याङ्कन सम्बन्धी दुई दिने कार्यशाला शुभारम्भ भएको छ ।

पालिका भित्र रहेका कक्षा १ देखि ३ सम्म अध्यापन गर्ने शिक्षकहरूका लागि सो तालिम आयोजना गरिएकोमा पालिका भित्रका ३५ जना शिक्षकको सहभागिता रहेको थियो।

सो कार्यशालाको सहजीकरण पाठ्यक्रमविद तथा रोस्टर प्रशिक्षक दयाराज कँडेलले गरेका थिए । गाउँपालिकाको सभाहलमा उक्त कार्यक्रम भएकोमा गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी उपाध्यक्ष हरिप्रसाद पाठक प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे र शिक्षा अधिकृत निशा पाण्डे रहेका थिए ।

नेपाल सरकारले पाठ्यक्रममा एकीकृत अवधारणा ल्याएसँगै कक्षा १ देखि ३ सम्म आवधिक परीक्षाको सट्टा निरन्तर विद्यार्थी मूल्याङ्कनलाई जोड दिने र दैनिक सिकाई उपलब्धिको अभिलेखीकरण गरी विद्यार्थीको सक्षमता पत्ता लगाउनुपर्ने भएकाले विद्यालयलाई विद्यार्थीको उपलब्धि परीक्षणमा सहयोग गर्ने उद्देश्यले सो कार्यशाला आयोजना गरिएको शिक्षा अधिकृत निशा पाण्डेले बताए।

कार्यशाला आज सकिदैछ।