बाबुराम भट्टराईले गरे पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने घोषणा

काठमाडौ । आजै मात्र प्रगतिशील लोकतान्त्रि पार्टी गठन गरेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने घोषणा गरेका छन् । पार्टी घोषणा सभामा बोल्दै डा. भट्टराईले पार्टीको कामकारबाहीमा पनि कुनै हस्तक्षेप नगर्ने समेत जनाएका हुन् ।
उनले कार्यक्रममा बोल्दै भने– ‘तपाईँहरूले मलाई अभिभावकको रुपमा प्रस्तुत गर्नुभएको छ, त्यसको हैसियत अभिभावकले के गर्नुपर्छ त्यो तपाईँहरूर्ला थाहै छ। अभिभावकले आफूलाई कहिल्यै कार्यकारी भूमिका निर्वाह गर्दैन। जसले काम गर्नुपर्ने हो उनीहरूलाई काम गर्न दिन्छ, दिनुपर्छ’, भट्टराईले भने, ‘आफ्नो कुरा राख्नुपर्छ। लागू भएन भने पनि उनीहरूले जे गर्छन् गर्छन्, उनीहरूको अधिकार हो भनेर सहेर बस्नुपर्छ। म त्यही प्रतिबद्धता व्यक्त गर्दछु।’
उनी नेतृत्वको नेसपा नयाँ शक्ति, जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा छाडेका सन्तोष परियारलगायतका घटक एक भएर आइतबार प्रलोपा घोषणा भएको हो। एकतामा केही जेनजी समूहसमेत सहभागी भएका छन्।