चितवन । लायन्स क्लब अफ काठमाडौं पद्मपानीको टोलीले दूरदराज क्षेत्र चाराकिलाको श्री राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई झोला तथा शैक्षिक सामग्री वितरण गरेको छ।
राप्ती नगरपालिका–१० मा रहेका चाराकिला बस्तीमध्ये करिब ९५ प्रतिशत जनसंख्या चेपाङ समुदायका छन्। यही बस्तीका १२७ विद्यार्थी अध्ययनरत विद्यालयमा क्लबको टोली उपस्थित भई विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेको विद्यालयले जानकारी दिएको छ।
सहयोग कार्यक्रम सम्पन्न गर्न नेपोलियन चेपाङले गरेको विशेष सहयोगप्रति विद्यालय परिवारले आभार व्यक्त गरेको छ। विद्यालयका प्रतिनिधिहरूका अनुसार, प्राप्त सामग्रीले समुदायका आर्थिक एवं सामाजिक रूपमा पछाडि परेका बालबालिकामा अध्ययनप्रति उत्साह वृद्धि भएको छ।
स्थानीय शिक्षक र समुदायका सरोकारवालाहरूले विद्यालयमा पूर्वाधार, शैक्षिक सामग्री र सिकाइ वातावरणका चुनौती अझै कायम रहे पनि विद्यार्थी संख्या क्रमशः बढ्दै गएको बताए। विद्यालयले पोषण, स्वास्थ्य तथा शिक्षासम्बन्धी कार्यक्रममार्फत सिकाइ गुणस्तर सुधारका प्रयास गरिरहेको उल्लेख गर्दै स्थानीयले सम्बन्धित निकाय तथा संस्थाहरूबाट निरन्तर सहयोग आवश्यक रहेको बताएका छन्।
चाराकिलाको यो विद्यालय चेपाङ समुदायका बालबालिकाको शिक्षा र भविष्य निर्माणमा महत्वपूर्ण आधार बनेको भन्दै विद्यालय र अभिभावकहरूले यस्ता सहयोगले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।










प्रतिक्रिया