नेपाल ट्रष्टकाे जग्गा लिजमा दिने प्रकरण : पूर्व सहसचिव कार्की पक्राउ

काठमाडौं । नेपाल ट्रष्टको नाममा दर्ता रहेको जग्गा लिजमा दिँदा अनियमितता भएको प्रकरणमा ट्रष्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेकाे छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले  ठगी र आपराधिक विश्वासघातको मुद्दामा कार्कीलाई कात्तिक २१ गते पक्राउ गरेको हो।

चितवनको भरतपुर महानगरपालिका–१५ बस्ने सहसचिव कार्की उनी हाल अवकाश प्राप्त कर्मचारी हुन्।

अनुसन्धानअनुसार काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा थामसेर्कु ट्रेकिङ प्रालिसँग लिजमा दिने क्रममा नियमानुसार संचालक समितिको निर्णयबिना र बिनाआधार अर्को कित्ता पनि थप गरी लिज सम्झौता गरिएको थियो।

मिति २०७४ साल जेठ १४ गते गरिएको उक्त सम्झौतामा ३ वर्ष निर्माण अवधिको बिओटी मोडलका लागि भएको ठाउँलाई ३० वर्षका लागि लिजमा दिने निर्णय गरिएको थियो।

 सो क्रममा ट्रष्टका अधिकारी, कर्मचारी र अन्य व्यक्तिहरूले गैरकानूनी लाभ लिएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।

पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको र अन्य संलग्न व्यक्ति तथा सहयोगीहरूबारे पनि छानबिन अघि बढाइएको प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।