कांग्रेसको केन्द्रीय समिति बैठक फेरी स्थगित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरी स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि भएको आजको बैठक बस्दै नबसी स्थगित गरिएको सूचना प्रकाशित गरिएको हो ।

हिजो शुक्रबार पनि बैठक बस्दै नबसी स्थगित भएको थियो ।

कांग्रेसमा वर्तमान सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको आमनिर्वाचनपछि महाधिवेशन गर्ने वा त्यस अगावै महाधिवेशन गर्ने विषयलाई लिएर तीव्र विवाद छ । संस्थापन र महामन्त्रीले महाधिवेशनको फरक–फरक तालिका पेश गरेका छन् । विश्वप्रकाश शर्माले त भोटिङबाटै महाधिवेशनको मिति टुंग्याउनुपर्ने बताएका छन् ।
अब अर्को बैठक यही कात्तिक १८ गते मंगलबार दिउँसो १ बजेका लागि तोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । पार्टीको १५औँ महाधिवेशनको मिति तोक्नेसम्बन्धी प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस गर्ने बारेमा संस्थापन र संस्थापनइतर पक्षबीच सहमति हुन नसक्दा बैठक स्थगित भएको हो ।