बिहानैदेखि अवरुद्ध नारायणगढ – मुग्लिन सडक खुल्याे, अझै १० राजमार्ग अवरुद्ध

काठमाडौं । तुइनखोलामा पहिरो झरेपछि बिहानबाट अवरुद्ध मुग्लिन–नारायणघाट सडक खुलेको छ ।

ढुंगाहरू झर्ने क्रम रोकिएकोले अहिले सडकमा यातायात सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

मुग्लिन–नारायणगढ सडकअन्तर्गत तुइनखोला पुल नजिकै पहरोबाट ढुंगाहरू झर्दा आज बिहानदेखि यो सडकमा सवारी आवागमन अवरुद्ध भएको थियो।

अहिले मेसिनको सहायताले पहिरो हटाउने काम सुरु भएको छ।

वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम रहेकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा आग्रह गरिएको सडक डिभिजन कार्यालय भतरपुरले जनाएको छ ।

वर्षा, बाढी, पहिरो र अन्य कारण बीपी राजमार्गसहित देशका १० सडक पूर्ण रूपमा बन्द भएका छन्।

नेपाल प्रहरीले शुक्रबार बिहान ८ः३० बजे उपलब्ध गराएको जानकारीअनुसार हाल कोसी राजमार्ग, मेची राजमार्ग, तमोर कोरिडोर, सिद्धिचरण लोकमार्ग, बीपी राजमार्ग, नेपाल र चीन नाका जोड्ने पुल, पासाङल्हामु सडक, मध्य पहाडी लोकमार्ग, जोमसोम कोरोला सडक, बेनी-दरवाङ सडक खण्ड पूर्ण रूपमा बन्द छ भने सन्धिखर्क गोरुसिंगे सडक खण्डमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।