तीन महिनामा चार सय प्रहरीले जागिर छाेडे

काठमाडौं । नेपाल प्रहरीमा जागिर छाेड्नेकाे संख्या बढेकाे छ ।

पछिल्लो तीन महिनामा साढे ४ सय प्रहरी कर्मचारीले राजीनामा दिएका छन् । प्रहरीका अनुसार २० वर्ष सेवा पूरा गरेका र कोही ५ वर्ष मात्रै सेवा गरेकाले राजीनामा दिएका छन् ।

केही दिनअघि मात्रै नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले प्रहरी सेवाबाट राजीनामा दिएका थिए । उनले ‘व्यक्तिगत’ कारण देखाउँदै राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत हुन बाँकी छ

नेपाल प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार राजीनामा दिनेहरूमा जवानदेखि वरिष्ठ नायब निरीक्षक तहसम्मका सबैभन्दा बढी छन् । घरायसी र व्यक्तिगत कारण देखाएर तल्लो तहका प्रहरी कर्मचारीबाट दिनहुँजसो राजीनामा आइरहेको उनले जानकारी दिए ।

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि राजीनामा दिने क्रम बढ्न थालेको सुरक्षा निकायका अधिकारीहरू बताउँछन् । प्रहरीको अभिलेखअनुसार साउनयता उपदान सुविधा लिएर ९० र अरू साढे ३ सय प्रहरीले २० वर्ष सेवा पुगेपछि पेन्सन सुविधामा जागिर छाडेका हुन् ।

२३ भदौमा जेनजीले गरेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा २२ जना युवाको ज्यान गएपछि भोलिपल्ट देशभर फैलिएको हिंसात्मक प्रदर्शनमा सुरक्षा निकायका कार्यालय तथा ब्यारेक निसानामा परेका थिए ।

त्यो दिन प्रदर्शनकारीको कुटपिटबाट ३ प्रहरीको ज्यान गएको थियो भने नेपाल प्रहरीको मात्रै १२ सयभन्दा बढी हतियार लुटिएका थिए । करिब १ लाख राउन्ड गोली अभिलेखमा भेटिएको छैन ।

बानेश्वर वृत्त तिनकुनेमा कार्यरत प्रहरीलाई प्रदर्शनकारीले पोसाक नै फुकाल्न लगाएर नाङ्गै लखेटेका थिए । सो क्रममा प्रहरीहरु ज्यान बचाउन बागमती नदीमा पसेका थिए ।