वर्षाका कारण दाउन्ने सडक खण्ड अवरुद्ध

काठमाडौं । वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ ।

सडक मर्मतका लागि एकतर्फी बनाइएको उक्त सडकमा आज बिहानदेखि परेको वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए । वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको उनले बताए ।

उनले भने, ‘बिहानैदेखि परेको पानीका कारण बाटो हिलो र चिप्लो हुँदा सवारीसाधन पश्चिमतर्फ जान सकेका छैनन् । दाउन्ने खण्डमा मालवाहक सवारीसाधन उकालो चढ्न नसकेपछि यस खण्डमा जाम हुन नदिन प्रहरी खटिएका छन् ।’