काठमाडौं । संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको १६ वटा रिटमा सुनुवाइ गर्न पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेको हो । संवैधानिक इजलासमा रोल क्रमअनुसार न्यायाधीश राखिएको छ ।
जसमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा रहने छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढलेपछि सुशीला कार्कीको नेतृत्वमा २७ भदौमा अन्तरिम सरकार गठन भएको थियो । सोही दिन प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए
सो संसद विघटन संविधान विपरीत भएको र असंवैधानिक तरिकाले सरकार गठन भएको भन्दै अधिवक्ताहरू डा.प्रेमराज सिलवाल, युवराज सफल भनिने युवराज पौडेल, कर्तिनाथ शर्मा पौडेल, विपना शर्मा, आयुष बडाल, मकबुल मिया, अधिवक्ता खडकबहादुर शाह लगायतले राष्ट्रपति, प्रधानमन्त्री, लगायतलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् । उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिलाई असंवैधानिक घोषणा गर्न माग रिटमा गरेका छन् ।










प्रतिक्रिया