विपीन जोशीको शव नेपाल ल्याइयो, प्रधानमन्त्रीले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिन

काठमाडौं । हमासको आक्रमणपछि बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको पार्थिव शरीर आज नेपाल ल्याइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री सुशीला कार्कीले स्वर्गीय जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरिन् । कार्कीले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिन् ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, जोशीको पार्थिव शरीर आज अपरान्ह २:३५ बजे इजरायलबाट काठमाडौं ल्याइएको हो । विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री सुशीला कार्कीले जोशीप्रति श्रद्धाञ्जली अर्पणसँगै शोकसंतप्त परिवारजनमा गहिरो समवेदना जनाइन ।

शोकसभामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओम प्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई र नेपालका लागि इजरायली राजदूत लगायत पुगेका थिए ।

७ अक्टोबर २०२३ मा हमासले इजरायलको दक्षिणी भागमा आक्रमण गरेपछि निर्दोष नेपाली विद्यार्थी विपिन जोशीलाई बन्धक बनाएर गाजातर्फ लगेको थियो । लामो समयसम्म उनको अवस्था अज्ञात रहे पनि इजरायली सरकारले १४ अक्टोबर २०२५ मा उनको निधनको औपचारिक जानकारी गरायो । सोही आक्रमणमा परी अन्य १० जना नेपाली विद्यार्थीको पनि तत्काल निधन भएको थियो ।

जोशीको शवलाई आजै विमानमार्फत धनगढी लगिनेछ र त्यहाँबाट उनको गृहजिल्ला कञ्चनपुरस्थित घरमा पुऱ्याउने व्यवस्था मिलाइएको छ । मृतक जोशीको शव नेपाल ल्याउन इजरायलस्थित नेपाली राजदूतावास र इजरायली सरकारले समन्वय गरेका थिए ।