आजदेखि यी ठाउँबाट धर्ना र जुलुस गर्न नपाईने

काठमाडौं । आजदेखि काठमाडौंका मुख्य ५ ठाउँमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शनलगायतका विरोधका कार्यक्रम गर्न नपाईने भएकाे छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप २ महिनासम्म लागु हुनेगरि विभिन्न पाँच ठाउँमा विरोधका कार्यक्रम गर्न राेक लगाएको हो ।

यसअघि पनि यी ठाउँमा विरोध गर्न प्रशासनले रोक लगाएको थियो । हिजाे प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेशमा थप २ महिनासम्म राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, सिंहदरबार र अन्य संवेदनशील क्षेत्रमा भेला, जुलुस, धर्ना तथा प्रदर्शन गर्न निषेध गरिएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को अधिकार प्रयोग गरी सीडीओ पौडेलले मुख्य प्रशासनिक केन्द्र, अति विशिष्ट व्यक्तिहरूको निवास तथा त्यस वरपरका क्षेत्रमा हुन सक्ने धर्ना, घेराउ, जुलुस जस्ता गतिविधिले शान्ति सुरक्षामा गम्भीर असर पर्ने, सार्वजनिक सेवा प्रवाह र यातायात अवरुद्ध हुने तथा अन्तर्राष्ट्रिय चासो र मामिलामा समेत नकारात्मक प्रभाव पर्न सक्ने देखिएकाले यस्तो निर्णय लिइएको जनाएका छन् ।

आदेशको अवज्ञा गरी तोकिएको क्षेत्रमा प्रदर्शन गरिएमा र त्यसबाट कुनै सरकारी वा व्यक्तिगत सम्पत्तिमा नोक्सानी भएमा त्यसको क्षतिपूर्ति आयोजकबाटै असुलउपर गरिने चेतावनीसमेत दिइएको छ ।

विरोध प्रदर्शनका लागि निषेध गरिएका ठाउँहरूमा शीतल निवास, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरबार, नारायणहिटी दरबार संग्रहालय तथा आसपासका क्षेत्र छन् ।